विराटनगर । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धनमा भएको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
यसअघि सत्ता गठबन्धनमा भएको सहमति नै रास्वपाका लागि गृह मन्त्रालयको जिम्मेवारी पाउने प्रमुख आधार भएको उनले बताए । उनले गृह मन्त्रालय रास्वपा बाहेक अन्य कुनै पनि पार्टीलाई नदिइने दाबी गरे ।
प्रधानमन्त्री प्रचण्ड र आफूबीच सो विषयमा आवश्यक छलफलसहितको सहमति समेत भइसकेको उनले स्पष्ट पारे । उनले भने,‘गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति छ । मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय भने उहाँहरूले आफै टुङ्गो लगाउनुहुन्छ ।’
गृह मन्त्रालयसम्बन्धी निर्णयका निम्ति अदालतको पूर्णपाठ पर्खिनुपर्ने कुनै आवश्यकता नरहेको अध्यक्ष ओलीले जिकिर गरे । उनले गृह मन्त्रालयको जिम्मेवारीको विषयमा पनि केही दिनमै टुङ्गो लाग्ने उनले बताए ।