काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनमा बस्ने या नबस्नेबारे आवश्यक छलफल गर्ने बताएको छ ।
गृह मन्त्रालकै विषयलाई लिएर रास्वपाका सभापति रवि लामिछानेले आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । भेटमा लामिछानेले आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताएका थिए । तर प्रचण्डले गृहमन्त्रीमा आफ्नो पार्टीको समेत दावी रहेकाले सहमति खोजिनुपर्ने जवाफ दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डबाट यस्तो जवाफ आएपछि रास्वपाले सरकारबारे आवश्यक निर्णय लिन आन्तरिक छलफलमा जुटेको हो । रास्वपाले संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाएको छ ।
रास्वपा प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक परिस्थितिबारे थप निर्णय गर्न बैठक बोलाइएको बताए । ‘ सरकारमा बस्ने या नबस्नेबारे आवश्यक छलफल हुन्छ,’ ढकालले भने,‘गृह मन्त्रालयबारे छलफल गर्छौं ।’