रविलाई गृहमन्त्री बनाउनुपर्ने माग गर्दै एक व्यक्तिद्वारा आत्मदाह प्रयास

काठमाडौँ । नागरिकता विवादबारे सर्वोच्च अदालतको फैसलापछि सांसद पद गुमेसँगै गृहमन्त्री पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ ।
सरकारी कर्मचारीसमेत रहेका कार्कीले भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै आत्मदाह प्रयास गरेका हुन् ।
बाँकेको कोहलपुर नगरपालिका–११ स्थायी घर भएका कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालकका रुपमा कार्यरत छन् ।
जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको हो । शरीरमा पेट्रोल खन्याइसकेका उनलाई आगो लगाउनु पहिले नै जोगाएको प्रहरीले जनाएको छ ।


Published :१९ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media