काठमाडौँ । टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु भएकाको संख्या ४ हजार ३ सयभन्दा बढी पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार टर्की र सिरियामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार ३ सयभन्दा बढी पुगेको हो । यो संख्या अझै बढ्न सक्ने समाचारमा जनाइएको छ ।
टर्की केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले मध्यपूर्वका टर्कीका साथै सिरिया, लेबनान र इजरायल समेत हल्लाएको थियो।
भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश भएको छ भने लेबनान र इजरायलमा धक्का महसुस गरिए पनि त्यहाँ कुनै क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ३ सय ७९ जनाको ज्यान गएको छ भने ११ हजार जना घाइते भएको छन् त्यहाँको सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
यस्तै भूकम्पबाट सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
टर्की मिडियाका अनुसार त्यहाँको समयअनुसार बिहान ४ बजे ७.८ र दोस्रो करिब १० बजे ७.६ र तेस्रो दिउँसो ३ बजे ६.० म्याग्निच्युडका भूकम्प गएका थिए । यसबाहेक ७८ वटा पराकम्पन पनि गएको बताइएको छ ।
भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् । यसै बीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदायसँग आग्रह गरेको छ ।
‘टर्कीले स्तर ४’ अलार्म जारी गर्दै सहयोगका लागि अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।
टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो । (एजेन्सी)