भोजपुरका दुई पालिकाको कार्यक्रममा राष्ट्रपति भण्डारीको सहभागिता

भोजपुर । दुई पालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी भोजपुरको उत्तरी क्षेत्र आउनुभएको छ ।

जिल्लाको उत्तरी षडानन्द नगरपालिका स्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरबाट भोजपुर आउनु भएको हो । भोजपुर उहाँ जन्मिएको जिल्ला समेत हो ।

राष्ट्रपति भण्डारीबाट साल्पासिलिछो गाउँपालिकाको वडा नम्वर १ कुलुङको गौडेनीमा रहेको नेपालको प्रथम समाज सुधारक बिदुषी महिला योगमाया न्यौपानेको शालिक अनावरण साथै पशुपतिधाम गौडेनीमा पूजा अर्चनासहित योगमाया स्मृति प्रतिष्ठानको अवलोकन समेत गर्नु भएको छ । साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

यस्तै राष्ट्रपति भण्डारीबाट षडानन्द नगरपालिका वडा नम्वर १ मझुवाबेसीमा रहेको योगमायाको समाधी स्थलमा माल्यार्पण र अवलोकन समेत भएको छ ।

सोक्रममा प्रदेश नम्वर १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले योगमाया समाधी स्थल पार्कको समेत शिलन्यास गर्नु भएको छ ।
षडानन्द नगरपालिका वडा नम्वर ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म घडेरीमा राष्ट्रपति भण्डारीले अधिकारीको शालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रम समेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिनु भयो ।

सोहीक्रममा राष्ट्रपति भण्डारीले कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन गर्ने कार्यक्रम समेत रहेको नगर प्रमुख उदासले बताउनुभयो ।


Published :२५ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media