काठमाडौँ । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ ।
एएफपी न्युजका अनुसार घाइतेको संख्या ४० हजार नजिक पुगेको छ भने लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् ।
डब्ल्यूएचओ र संयुक्त राष्ट्र लगायत विश्वका ७० भन्दा बढी देश सहयोगका लागि जुटेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सिरियामा ३ लाख मानिस घर छाड्न बाध्य भएका छन्।
सरकारप्रति जनआक्रोश बढ्दै गएका बेला टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पपछि आफ्नो सरकारको प्रारम्भिक प्रतिक्रिया त्रुटिपूर्ण रहेको स्वीकार गरेका छन् ।
उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।
भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ । यसबाट सिरिया अझै बढी प्रभावित भएको छ । सबैभन्दा बढी इदलिब प्रान्त प्रभावित भएको छ ।