अनेरास्ववियू क्रान्तिकारीको निर्वाचित कार्यसमिति खारेज, आयोजक कमिटी बनाउने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको निर्वाचित कार्यसमिति खारेज गरेर आयोजक कमिटी बनाउने निर्णय गरेको छ ।
माघ १२ देखि २२ सम्म बसेको स्थायी समिति बैठकले पञ्चा सिंह नेतृत्वको अनेरास्ववियू खारेज गर्दै आयोजक कमिटी बनाउने निर्णय गरिएको हो ।
अखिल क्रान्तिकारीको नयाँ कमिटीका लागि स्ववियू निर्वाचनपछि राष्ट्रिय सम्मेलन गर्ने पार्टीले निर्णय गरेको छ।
पार्टी निर्णयबारे जानकारी गराउन जारी गरिएको परिपत्रमा भनिएको छ, ‘विद्यार्थी मोर्चामा देखिएका समस्याहरुलाई हल गर्न बैठक राखेर केन्द्रीय आयोजक समति निर्माण गर्ने र एकढिक्का भएर स्ववियू चुनावमा लाग्ने । स्ववियू चुनाव पछाडी राष्ट्रिय सम्मेलन गर्ने । समानान्तर संगठन र गतिविधि गर्न नपाउने ।’
सिंह २०७८ असोज १७ गते अखिल क्रान्तिकारीको अध्यक्ष निर्वाचित भएकी थिइन् । सिंहलाई अध्यक्ष बनाएको भन्दै असन्तुष्ट पवन कार्कीले समानान्तर समिति चलाउँदै आएका थिए। उनले गत १८ असारमा नयाँ कमिटी घोषणा गरेका थिए । स्थायी समिति बैठकले सो समानान्तर समिति पनि खारेज गरिदिएको छ।
विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्न यसअघि स‌ंगगनका पूर्व अध्यक्ष रमेश मल्ल, केन्द्रीय सदस्य एवम पूर्व अध्यक्षद्वय रत्न ढकाल र नरेन्द्र न्यौपानेको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरिएको थियो । सो समितिले साउन ४ गते पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो । समितिले संस्थापन पक्षले गरेको कारबाही फिर्ता लिने र असन्तुष्ट समूहको समानान्तर समिति खारेज गर्ने, दुवैलाई मिलाएर तदर्थ समिति बनाउने, राष्ट्रिय सम्मेलन आयोजना गर्ने, उमेर हद लागू गर्नेलगायतका सुझाव दिएको थियो ।
उक्त समितिले प्रतिवेदन बुझाएको लामो समयपछि माओवादीले अखिल क्रान्तिकारीको विवाद समाधानबारे निर्णय लिएको हो ।
चैत ५ मा हुने स्ववियु चुनावलाई समेत असर गर्ने भएपछि माओवादीले मध्यमार्गी बाटो अबलम्बन गर्दैै राष्ट्रिय सम्मेलनमा जाने निर्णय लिएको हो ।


Published :२६ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media