जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य छः प्रचण्ड

राष्ट्रपाटी न्युज

१ फाल्गुन २०७९

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गरेका छन् ।

उनले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताए ।

उनले  पार्टी एकता र समाजवादी मोर्चा बनाएर अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब छिटै समाजवादी मोर्चा बनाएर नयाँ नेतृत्व निर्माण गरिने बताए ।

‘सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई पनि अब एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु । केही समयदेखि आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया अघि बढिसकेका छन् । मैले पनि धेरै समूहसँग छलफल गरेको छु,’ उनले भने, ‘मलाई विश्वास छ छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ । त्यसले आम माओवादी नेता कार्यकर्ता मात्र नभइ आम जनतालाई पनि एक पटक उत्साहित गर्नेछ । कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ । छिटै एउटा समाजवादी मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणमा आउने विश्वास लिएको छु ।’ उनले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताए ।

प्रधानमन्त्री दाहालले केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौं कोणबाट प्रश्न उठाउने कोसिसहरु भइरहेको उल्लेख गर्दै जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताए । उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गरे ।


Published :१ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media