काठमाडौं । यातायात मजदुरहरूले आन्दोलन फिर्ता लिएपछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सुचारु भएको छ । सरकार र आन्दोलनरत यातायात मजदुरबीच मंगलबार सिंहदरबारमा भएको वार्तामा बन्दको कार्यक्रम फिर्ता लिने समझदारी पछि सार्वजनिक यातायात सञ्चालनमा आएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी प्रतिनिधिसँग भएको वार्तामा आफूहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक भएपछि बन्द फिर्ता लिएको नेपाल स्वतन्त्र यातायात मजदुर संघले जनाएको छ।
१० बुँदे मागसहित मजदुरहरू आन्दोलनमा उत्रिएपछि सरकारले वार्तामा बोलाएको थियो । बालाजु,माछापोखरीलगायतका ठाउँमा पार्किङ गरेर यात्रु चढाउँदै आएका यातायात मजदुरले ट्राफिकले उक्त एरियामा पार्किङ निषेध गरी बसपार्कमा मात्रै पार्किङ गर्नुपर्ने नियम ल्याएको थियो। यो नियमको विरुद्ध यातायात व्यवसायी प्रदर्शनमा उत्रिएका हुन् ।
नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मंगलबार बिहानैबाट काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका थिए ।