कैलाली । नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका छन् । नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियानको वारेमा जानकारी दिन कैलालीको अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टले सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका हुन् ।
राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धनभित्र के हुन्छ भनेर आमनागरिकको चासो रहेको बताउदै उनले राष्ट्रपति गठबन्धनमा भएको सहमतिअनुसार चयन हुने बताए । उनले नेकपा एमालेले सबैलाई मान्य हुनेगरी उम्मेदवार उठाउने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्तिलाई इंगित गरेको भन्दै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने दाबी गरे ।
पार्टीभित्र शुद्धीकरण, सुदृढिकरण गर्नको लागि मिसन ग्रासरुट अभियान संचालन गर्न लागिएको एमाले सचिव एवम् सुदूरपश्चिम इन्चार्ज भट्टले बताए । यस अभियानबाट तल्लो स्तरका कार्यकर्ताको मनोविज्ञान पनि बुझिने सचिव भट्टले बताए । उनले अभियानमा पार्टीका केन्द्रिय, प्रदेश र जिल्ला स्तरिय नेतालाई अन्तर जिल्ला, अन्तर पालिकामा परिचालन गरिने बताए ।
उनले यस अभियानबाट तिनै तहको निर्वाचनका क्रममा भएका पार्टीलाई अन्तरघात गर्ने व्यक्तिहरुको पहिचान गरेर तल्लो तहबाटै जिल्ला प्रदेश हुँदै केन्द्रमा पठाइने बताए ।
यस अभियानमा कार्यक्रममा पार्टीका नीति विचार पनि प्रसारण गरिने उनले बताए । अभियानको उद्देश्य कार्यकर्ता मार्फत जनतासम्म जाने र त्यहाँको मनोविज्ञानलाई बुझ्ने पनि रहेको उनले बताए । अभियान २ महिना सम्म संचालन हुने जनाइएको छ । अभियान बैसाख ९ गते पार्टी स्थापना दिवसका दिन समापन गरिने सचिव उनले बताए ।
सचिव भट्टले नागरिक उन्मुक्ति पार्टीले समर्थन नगर्दा सुदूरपश्चिममा एमाले सरकार ढलेको र कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको बताए । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ एक मात्रै शर्त राखेको बताउँदै उनले मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले सरकारले चाहेर पनि तत्काल छुटाउन सक्ने अवस्था नभएको बताए ।
सत्तारुढ दलले सरकारको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता गरेको बताउदै भट्टले अदालती कुरा रेशम चौधरीले नबुझेका कारण पछाडि हट्नुपरेको बताए । सर्वोच्चमा विचाराधीन मुद्दामा राजनीतिक निर्णय गर्ने प्रचलन नभएको उनले बताए ।