काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भईरहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको पनि बताए । शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुईमहिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै उनले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्नेगरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।
अध्यक्ष ओलीले विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरु अहिले पनि रहेकाले त्यस्ता शक्तिहरुको षडयन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि बताए ।
अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । पार्टी हितको पक्षमा उभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उनको भनाइ थियो । ओलीले आगामी ४ वर्षपछि हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको स्पष्ट पारे । उनले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरु नरहेको जिकिर गरे ।