कैलाली । नेकपा एमालेका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् ।
अर्थमन्त्रीसमेत रहेका पौडेलले सत्ता गठबन्धनको सहयात्रा काँचो धागोमा अडिएको नभएको बताउँदै पाँच वर्षसम्म चल्ने दाबी गरेका हुन् ।
नेकपा एमालेले मिसन ग्रासरुट अभियान अन्तरगत शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन पछि सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले बाहिर आएका हल्लाका पछाडि नलाग्न आग्रह गरे ।
नेपाली राजनीतिमा हल्ला एकतिर चल्ने बताउँदै उहाँले हल्ला चलेको ठिक उल्टो घटनाक्रम अगाडि बढ्ने गरेको बताए । नीतिगत कार्यक्रमको एकतामा सरकार बनेको बताउँदै उनले गठबन्धन सरकार काँचो धागोमा अडिएको सहयात्रा नभएर सहयात्रा ५ वर्ष चल्ने बताए ।
पौडेलले राष्ट्रपति, उपराष्ट्रपति लगायतका सबै पदहरुमा पूर्व सहमति नै कार्यान्वयन हुने बताए । । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यकता परेको भनिरहेको विषयलाई अन्यथा लिन नहुने भन्दै मन्त्री पौडेलले सबै दल मिल्नुपर्छ भन्नु राम्रो कुरा भएको बताए ।
उनले अहिलेको अर्थतन्त्र सुधारका लागि पहल भईरहेको बताए । बैङ्कको ब्याजदर बढेको भन्दै गुनासो बढ्दै गएको बताउँदै उनले ब्याजदर घटाउन सरकारले राष्ट्र बैङ्कसँग समन्वय गरिरहेको बताए । उनले ब्यापारीले ढुक्क भएर ब्यापार गर्ने वातावरण गर्न सरकार लागि परेको बताए ।
यसैबीच कैलाली उद्योग वाणिज्य सङ्घले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ । उद्योगी व्यवसायीहरू मारमा परिरहेको र उनीहरूको समस्या समाधान गर्न माग गर्दै उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष पुष्प कुँवरले मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
आफ्नै कार्यालयमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले पछिल्लो समय व्यवसायीहरू मारमा परेको बारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
उनले बैङ्कले बढाएको ब्याजदर घटाउनुपर्ने र किस्ता समय पनि हेरफेर गर्नु पर्ने माग अर्थमन्त्रीलाई राखेका थिए । मन्त्री पौडेलले सरकार व्यवसायीहरूको समस्या समाधान गर्न लागिपरेको बताएका थिए । उनले सरकार उद्योगी व्यवसायीहरूसँग उनीहरूका समस्याहरू हल गर्ने विषयमा छलफल गरिरहेको समेत जानकारी दिएका थिए ।