काठमाडौं । ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा पुगेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ ।
घरमै ग्याँस सिलिन्डर लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका सांसद भण्डारी मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत छन् ।
भण्डारीसँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलले दिएको जानकारीअनुसार आज बिहान साढे ६ बजे चिकित्सकसँग कुरा गर्दै ‘सबै पारामिटर नर्मल’ रहेको जानकारी गराएका हुन् । भण्डारीको शुक्रबार पहिलो सर्जरी गरिएको थियो ।
‘पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तीमा १-२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको जानकारी डा. मुकेशबाट प्राप्त भयो,’ कँडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको छ । डाक्टरको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्नेसमेत जानकारी प्राप्त भएको निवेदन गर्न चाहन्छु ।’
बुद्धनगरस्थित घरमा ग्याँस लिक भएर पड्किँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेकी आमाको भने बिहीबार नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।