राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारले जित्छः उपाध्यक्ष पौडेल

राष्ट्रपाटी न्युज

१० फाल्गुन २०७९

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपति निर्वाचनमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गरेका हुन् । उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने बताए । सत्तारुढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उनले बताए ।

त्यस्तै एमाले सचिव गोकर्ण बिष्टले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनु नै राष्ट्रिय सहमति हुने बताए ।

उनले भने–  ‘नेकपा (एमाले) ले जो उम्मेदवारलाई राष्ट्रपतिको रुपमा प्रश्तावित गर्छ त्यो उम्मेदवारलाई निर्वाचित गर्ने सन्दर्भमा नेकपा (माओवादी केन्द्र)को जिम्मेवार भुमिका रहन्छ भन्ने हाम्रो अपेक्षा हो । नेकपा (एमाले) ले उठाएको उम्मेदवारलाई निर्वाचित गर्ने सहमति नै आजको सन्दर्भमा राष्ट्रिय सहमति हो ।’

उनले सत्तारुढ गठबन्धनका बीचमा भएको सहमति प्रधानमन्त्रीले इमान्दारीतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।


Published :१० फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media