कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणाली आजैदेखि लागू भएको छ । यसबाट रात्रिकालीन उडानका लागि आवश्यक सबै पूर्वाधार तयार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । यसअघि विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो ।
उक्त एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिन्छ । हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजुअल फ्लाइट रुल्स’ (भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण गरिएको थियो । विमानस्थलबाट दिउँसो ४ बजेसम्म मात्र उडान हुँने गरेकामा रात्रिकालीन उडानले सहज बनाउने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए ।
रात्रिकालीन उडानका लागि विमान कम्पनीले पनि आफ्नो तयारी सुरु गरेका छन् । पोखरामा हालसम्म दैनिक १० वटा उडान गरिरहेको बुद्ध एयरलायन्सले अरु दुई उडान थप गर्ने तयारी गरेको एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।