तीन दल बैठकः कांग्रेससँगको छलफलपछि मात्रै राष्ट्रपतिबारे निर्णय गर्ने

राष्ट्रपाटी न्युज

११ फाल्गुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले नेपाली कांग्रेससँग शुक्रबार छलफल गरेपछि मात्रै राष्ट्रपति उम्मेदवारको विषयमा अन्तिम निर्णय गर्ने भएका छन् ।

बिहीबार साँझ बैठकपछि सञ्चारकर्मीहरुसँग जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबारको छलफलपछि नयाँ गठबन्धन बन्ने वा नबन्ने विषयमा निर्धारण हुने बताएका छन् ।

‘भोलि हामी ३ दल र नेपाली कांग्रेसबीच छलफल गर्ने सहमति भएको छ,’ श्रेष्ठले भने, ‘भोलिकै बैठकबाट नयाँ गठबन्धन बन्छ कि बन्दैन भन्ने विषयको निर्धारण हुन्छ ।’

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले दलहरुबीच छलफल भए पनि ठोस सहमति भइनसकेको बताए ।

‘माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मोर्चा बनाउने विषयमा छलफल भयो,’ज्वालाले भने, ‘हाम्रो पार्टीको सचिवालयले कांग्रेस वा अन्य दलहरु सबै राजनीतिक सन्दर्भमा कुराकानी गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार छलफल गरिरहेका छौं ।

उनले राष्ट्रिय सहमतिको रुपमा अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए त्यसलाई अस्वीकार नगरिने बताए । उनले पुरानो गठबन्धनमा ब्युँत्याउने विषयमा ठोस छलफल नभएको बताए ।

बिहीबार दिउँसो नै प्रधानमन्त्री पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । उक्त बैठकपछि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा एकीकृत समाजवादीले राष्ट्रपतिका लागि दाबी गर्दै आएको छ भने जसपाले उपराष्ट्रपतिका लागि दाबी गरिरहेको छ ।


Published :११ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media