राष्ट्रपति निर्वाचनः उम्मेदवारको मनोनयन दर्ता आज हुँदै

राष्ट्रपाटी न्युज

१३ फाल्गुन २०७९

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का ३३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको ५५० गरी ८८२ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसपटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ ।

राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने र साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ । त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् ।

बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कूल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ ।

संविधानको धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद रिक्त हुने व्यवस्था छ ।

संघीय संसद्का सदस्यको कूल मतभार २६ हजार एक सय ४९ र प्रदेशसभा सदस्यको कूल मतभार २६ हजार ४०० हुन आउँछ । दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।


Published :१३ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media