काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा परराष्ट्रमन्त्री बिमला राई पौडेलको जेनेभा भ्रमण रद्द भएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा भाग लिन मन्त्री पौड्याल आज जेनेभा जाने कार्यक्रम थियो ।
परराष्ट्र मन्त्रालयले आईतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री पौड्याल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी गराएको थियो ।बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौड्यालले बताएकी थिइन् । तर, बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने देखिएको छ ।
यसअघि सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तराष्ट्रिय समूदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्विपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रुपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौड्यालले बताएकी थिइन् ।
मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो ।