काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउनेलाई बुद्धिजीवीले भ्रमजालबाट मुक्त बनाउनुपर्ने धारणा राखेका हुन् ।
ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भने जनतालाई चेतनाको स्तर कहाँ छ भन्ने मूल्याङ्कन गर्नुपर्ने र जनतामा जागरण ल्याउनुपर्ने बताए । उनले राजनीतिमा हरेक प्रणाली गाँसिएको हुने बताए ।
सामाजिक परिवर्तनका विरोधीहरु जनता अल्मल्याउन सफल हुँदा एमालेले हार्नुपरेको उनको भनाई छ। उनले भने,‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन्। उनीहरुलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो । जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस्।’
ओलीले रेलको डिब्बा र इन्जिनसँग तुलना गर्दै बुद्धिजीवी इन्जिन भएको बताए। उनले एउटा लेख लेखेपछि अरुको लागि प्रेरणादायी हुने र विचार प्रवाह हुने उल्लेख गरे । विचारसँग नकारात्मक टिप्पणी आए नआत्तिन आग्रह गर्दै उनले भने, ‘गलत प्रवृत्तिविरुद्ध निरन्तर लाग्नुहोस् ।’ओलीले बिना मेहनत, बिना संघर्ष कोही पनि विजेता बन्न नसक्ने धारणा राखे ।