इण्डोनेशियामा इन्धन भण्डारण विस्फोट, १७ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

२० फाल्गुन २०७९

काठमाडौँ । इण्डोनेशियाको राजधानी जकार्ताको उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ ।

जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी बीपीबीडीका कार्यवाहक प्रमुख मुहम्मद रिदवानले घटनामा घाइते हुनेको सङ्ख्या ५१ पुगेको र तिनीहरूको हाल राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

उत्तरी जकार्ताको प्लुम्पाङस्तित सरकारी तेल कम्पनी पर्टामिनाको इन्धन भण्डारण स्टेशनमा शुक्रबार राति करिब ८ः०० बजे विस्फोट भएको थियो । सो विस्फोटनबाट स्टेसन नजिकैका बासिन्दा आगो फैलिने त्रासले घर छाडेर भागेका थिए ।

उक्त आगो निभाउन ५० भन्दाबढी दमकल र २६० भन्दाबढी अग्निनियन्त्रक खटाइएको थियो । करिब छ घण्टा लामो प्रयासपछि आगो निभाउन सफल भएको बताइएको छ ।

विस्फोटले यस क्षेत्रका एक हजार भन्दा ध‍ेरै बासिन्दालाई प्रत्यक्ष असर गरेको थियो । प्रभावितलाई अहिले नजिकैको अस्थायी आश्रयस्थलमा सारिएको छ ।

उक्त घटनामा आठ जना बेपत्ता भएको बताइएको छ । घटनामा अन्य सम्भावित पीडितको खोजी गर्न उद्धारकर्ता अझै पनि घटनास्थलमा परिचालित छन् । (एजेन्सी)


Published :२० फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media