मुस्ताङमा यो सिजनकै पहिलो हिमपात, स्थानीय उत्साहित

राष्ट्रपाटी न्युज

२४ फाल्गुन २०७९

जोमसोम । मुस्ताङमा यो सिजनकै पहिलो हिमपात भएको छ । बुधबार बिहानदेखि मुस्ताङमा हिउँ पर्न सुरू भएको हो । हिउँ पर्न थालेपछि यहाँ किसान,पर्यटन व्यवसायी ,कर्मचारी र सर्वसाधारण स्थानीय खुसीले उत्साहित भएका छन् ।

मुस्ताङमा चालु वर्षकै पहिलो बेमौसमी हिमपात भएको हो । हिउँदयाम सकिएर विस्तारै गर्मीयाम सुरु हुँदा मुस्ताङमा हिमपात भएको हो । बिहानैदेखि परेको हिउँ जमिनको सतह तातिसकेकाले बस्तीमा हिउँ जम्न सकेको छैन । यद्यपी तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका डाँडाकाँडा र खर्कहरु हिउँले सेताम्मे हुन थालेको छन् । मुस्ताङमा मध्यम प्रकारको हिउँ परिरहेको छ । हिमपात अझै बाक्लो र साँझसम्म परेमा मुस्ताङका डाँडाकाँडा,खर्क ,खेतबारी र बस्ती पुरै हिउँले ढाकिने संभावना छ ।

मुस्ताङको मौसम अहिले धुमिल छ । उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्म फुर्रर फुर्रर हिमपात भइरहेको छ । हिमपात भएसँगै, स्थानीयबासी, कर्मचारी र पर्यटकहरु हिउँसँगै रमाउन थालेका छन् ।

जिल्लाको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ । वसन्त ऋतुको आगामनसँगै यो वर्ष फागुनको अन्तिम महिनामा हिमपात भएको हो ।

मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाउन थालेका छन् ।

बर्सेनि कार्तिदेखि माघ महिनासम्म हिमपात हुने गथ्र्यो ।तर, यसवर्ष मुस्ताङमा हिमपात र वर्षा समेत हुन सकेको थिएन । हिउँ नपर्दा यहाँका कृषकले सिंचाईको भर पर्नु परेको थियो । कतिपय स्थानमा सिंचाईको स्रोत नहुने र हिउँ पनि नपरेकाले खेतीयोग्य जमिन सबै सुख्खा भएका थिए।

ढिलै भए पनि यस वर्षको हिमपातले मुस्ताङका किसानलाई आशिंक राहत प्रदान गरेको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालयले जानकारी दिएको छ ।

अनुकूल समयमा हिमपात नहुँदा सुख्खा बनेका यहाँका खेतीयोग्य जमिनमा हिउँले सिञ्चत गर्न थालेको छ । हिउँदयामको हिउँ कृषकका लागि बरदान सावित हुन्छ ।

जलवायु परिर्वतनका कारण हिमाली जिल्ला मुस्ताङमा बर्सेनि असमान प्रकारको हिमपात हुने गरेको छ । कुनै वर्ष भारी मात्रामा हिमपात हुने,कुनै वर्ष आशिंक हिमपात हुने र कुनै वर्ष अनुकूल समयमा हिमपात नै नहुने गरेको छ ।

गत वर्ष मुस्ताङमा १० पुस र १९ माघ महिनामा भारी मात्रामा हिमपात भएको थियो । यस्तै, ४ वर्षअघि मुस्ताङमा भारी हिमपात हुँदा उपल्लो मुस्ताङमा भारी वर्षा हुँदा सयौं याकचौरी र भेडाच्यांग्रा खर्कमा हिउँले पुरिएर मरेका थिए ।


Published :२४ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media