चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रोपटक चयन

राष्ट्रपाटी न्युज

२६ फाल्गुन २०७९

काठमाडौँ । शुक्रबार सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन् ।

चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरे। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन् ।

एक घण्टासम्म चलेको मतदान प्रक्रियाको मतगणना १५ मिनेटमा सकिएको थियो ।

सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति कति पटक बन्न पाउने भन्ने नियम खारेज गरेका थिए। यस निर्वाचनमा सी जिनपिङको जित निश्चित थियो ।

सोही समयमा नै सन् २०२३ मा सीले तेस्रो पटक सत्तामा रहनका लागि यो परिवर्तन गरेको अनुमान गरिएको थियो ।

सी चिनफिङले सोमबार संसदको वार्षिक अधिवेशनमा सम्बोधन गर्नेछन्। तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण अहिले चीन आर्थिक संकटको सामना गरिरहेको छ ।

गत हप्ता सी जिनपिङले चीनको आर्थिक संकटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए।

राष्ट्रपति चुनाव जित्नु धेरै हदसम्म औपचारिकता हो । सी जिनपिङलाई उनको पार्टीले केन्द्रीय सैन्य आयोगको अध्यक्षमा यसअघि नै चयन गरिसकेको छ। उनले चिनियाँ सशस्त्र बलको कमाण्डर-इन-चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन् । (एजेन्सी)


Published :२६ फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media