उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०७९

काठमाडौं । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आज (शनिबार) मनोनयन दर्ता हुँदै छ ।

निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी पत्र दर्ता गर्ने समय निर्धारण गरेको छ । संघीय संसद् परिसर नयाँ बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

आजै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र उम्मेदवारको विरोधमा उजुरी दिन मिल्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार २८ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ भने चैत ३ गते मतदान गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ । मतदानपश्चात् सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकेको समय र स्थानमा मतगणना कार्य सुरु गरिनेछ ।

मतगणना कार्य समाप्त भएपछि निर्वाचन घोषणा गरिने आयोगले जनाएको छ । आयोगद्वारा जारी कार्यतालिकामा भनिएको छ, ‘कुनै उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत नभएको कारण राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ५६ को उपदफा (१) वा उपदफा (३) बमोजिम पुनः मतदान गराउनुपर्ने अवस्थामा निर्वाचन अधिकृतले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी नियमावली, २०७४ को नियम ४० बमोजिम मतदानको मिति तोकी पुनः मतदान गराइनेछ ।’

उपराष्ट्रिपतिका लागि मनोनयन दर्ता गर्ने दिन अघिल्लो दिनसम्म पनि दलहरूले उम्मेदवारबारे टुंगो लगाएका छैनन् । सत्ता गठबन्धनमा उपराष्ट्रपति कसले लिने भन्नेबारे सहमति हुन सकेको छैन । गठबन्धनका शीर्ष नेताहरूको बैठकले यसबारे अन्तिम टुंगो लगाउने भएको छ । नेकपा एमालेले पनि उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन बैठक बोलाएको छ ।


Published :२७ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media