उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार उठाउनु संविधानको मर्म विपरीतः एमाले

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०७९

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने निष्कर्ष निकालेको छ । शनिबार बिहान बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष हुन नमिल्ने निष्कर्ष निकालेको हो ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार उठाउनु संविधानको मर्म विपरीत भएको बताएका छन् ।

एमालेले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा पनि छलफल भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ । त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ ।’

एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको उपाध्यक्ष समेत रहेकी शाक्य बागमती प्रदेशको पूर्वमुख्यमन्त्री हुन् । उनी नेपालको पहिलो महिला मुख्यमन्त्री हुन् । सत्ता गठबन्धनले भने उपराष्ट्रपतिमा साझा उम्मेदवारबारे सहमति जुटाउन सकेको छैन । दलहरूबीच सहमति नजुट्दा जनता समाजवादी पार्टी र जनमत पार्टीले  छुट्टाछुट्टै उम्मेदबार उठाउने भएका छन् ।

जसपाबाट रामसहाय यादव र प्रमिला यादव र जनमतबाट ममता झाले उपराष्ट्रपतिको उम्मेदवार बन्ने भएका हुन् । चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ ।

 


Published :२७ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media