काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) का संसदीय दलको नेता रामसहाय प्रसाद यादवले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।
यादवले सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी पर्ने सम्भावना रहेको छ ।
यसअघि एमालेबाट उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिएका छन् ।