खोटाङमा बन्दले यातायात सेवा प्रभावित

राष्ट्रपाटी न्युज

२८ फाल्गुन २०७९

खोटाङ । प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो ।

पहिचानको आधारमा नामकरण गराउनका लागि दबाब सिर्जना गर्न गठित प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आह्वानमा जिल्लामा बन्द गरिएको जसपाका प्रदेश समिति सदस्य नेता नविन राईले बताए ।

संयुक्त बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीको सवारी साधन चल्न पाएका छैनन् । बन्दकर्ताले मोटरसाइकल समेत नियन्त्रणमा लिएर पार्किङ गराइरहेका छन् । सवारी साधन चल्न नदिन बन्दकर्ता बिहान साढे तीन बजेदेखि दिक्तेलको किरात चोकका सडकमा पुगेका थिए । बन्दकर्ता दिक्तेलको किरात चोक र अल्छेढुंगास्थित मध्य पहाडी लोकमार्गमा बसेर सवारी आवागमनमा रोक लगाइरहेका छन् । यातायात ठप्प हुँदा यात्रु भने मारमा परेका छन् ।


Published :२८ फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media