उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

राष्ट्रपाटी न्युज

३० फाल्गुन २०७९

सियोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेको समयमा उत्तर कोरियाले दुई रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ । ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको बताइएको छ ।

अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा गरिएको पाँच वर्षयताकै सबैभन्दा ठूलो भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

सोमबार बिहानै उत्तर कोरियाले दुई क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले नेता किम जोङ उनले शत्रुहरूको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिएलगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको कोरियाली अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

यसैबीच, अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि सोमबारदेखि नै सुरु गरिएको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित अभ्यासका रूपमा हेर्ने गरेको छ । (एएफपी)


Published :३० फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media