आफू मृत्युदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क

राष्ट्रपाटी न्युज

३० फाल्गुन २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन् ।

मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्युदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो । मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान नहुने समेत बताए ।

अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्विकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताए ।

उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रुपमा, हामी नेपालीहरु, बुद्ध जन्मेका देशका बासिन्दाहरु, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्युदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानुहुँदैन । तर कतिवटा देशहरुले त मृत्युदण्ड दिएको दिएकै छन् । संयुक्त राष्ट्र संघको मानवअधिकार डिक्लेरेशनले कुनै प्रकारको विभेद हुँदैन भन्छ । सबै प्रकारका असमानता स्विकार गर्दैन ।’

अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।


Published :३० फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media