काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाइ ज्ञापन गर्दै जनही रू. ३ लाख राशीको पुरस्कार दिने घोषणा गरेका छन् ।
त्यस्तै उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन पनि दिएका छन् ।
आज विहान ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक प्रबन्धको घोषणा पनि गरेका छन् ।
बिहीबार आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्री प्रचण्डले बिहीबार नै खुसी व्यक्त गर्दै खेलाडीहरुलाई धन्यवाद दिएका थिए ।
उनले भनेका थिए “लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई ।” प्रधानमन्त्री प्रचण्ड बिहीबार त्रिवि क्रिकेट मैदानमै पुगर खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए ।
रङ्गशाला पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समुहिक स्वरमा भने, प्रधानमन्त्रीज्यू दर्शक अट्ने रंगशाला चाहियो ।
नेपाली क्रिकेट इतिहासकै महत्त्वपूर्ण जित हासिल भएको खेलमा नेपाल विरुद्ध कुनै देशले बनाएको सबैभन्दा ठूलो योगफलमात्र होइन दर्शकको उपस्थिति पनि ऐतिहासिक भन्न लायक थियो ।