निर्वाचन आयोगद्वारा उपराष्ट्रपतिमा निर्वाचित यादवलाई प्रमाणपत्र प्रदान

राष्ट्रपाटी न्युज

चैत्र ३, २०७९

काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उहाँलाई उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरेका हुन् ।

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका हुनुभएको हो ।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो ।

पूर्वमन्त्रीसमेत रहनुभएका यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलहरूको साथ थियो ।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ ।


Published :चैत्र ३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media