प्रचण्डले देशमा अस्थिरता निम्त्याउने अगुवाइ गरिरहेका छन्: गोकर्ण विष्ट

हेटौंडा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गरे ।

नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने पनि २ महिना बित्न नपाउँदै सहमतिलाई तोडेर प्रचण्डले अवसरवाद देखाएको विष्टले बताए । ‘यो अवसरवाद राष्ट्रको समृद्धि, जनताको जीवन रुपान्तरणको लागि नेपालको राजनीतिमा प्रगतिको कालो बादलको रुपमा देखापरेको छ’ उनले भने ।

नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका पार्टीहरुले नेकपा एमालेका विरुद्ध बनाएको समीकरणको आयु धेरै लामो नभएको विष्टले बताए । कुनै नीति, सिद्धान्त, विचार र निश्चित मापदण्ड बिना बनेको यस्तो गठबन्धन भत्किएर नयाँ प्रकारका अवस्थाहरु देखापर्ने उनले बताए । नेकपा एमालेलाई कमजोर बनाउनका लागि कसैले अह्राएको वा सिकाएको आधारमा अरु दलहरु एक ठाउँमा आएको उनको भनाइ छ । सचिव विष्टले एमाले र कांग्रेस मिलेर सरकार बन्ने परिस्थिति तत्काल नरहेको बताए ।


Published :४ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media