मलमा दिएको अनुदान कटौती गर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले)ले रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौति गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

आइतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए । महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटिरहेका बेला नेपालमा किन वृद्धि गर्नु प-यो भनी सरकारलाई प्रश्न समेत गरे ।

उनले आफ्नो पार्टी नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि सरकारलाई दवाव दिए ।

महासचिव पोखरेलले नेपालमा वन क्षेत्र प्रशस्त भएकाले प्राङगारिक मलको उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न र त्यसका लागि आवश्यक बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । कृषि क्षेत्रको विकासका लागि लागि पूँजी र प्रविधिको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।


Published :५ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media