दलित समुदायले सयौं वर्षसम्म सम्झने गरी छिट्टै कार्यक्रम घोषणा गर्दैछुः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभेद,ज्यादति र उत्पीडनमा परेको दलित समुदायको हकअधिकार स्थापित गर्नका लागि आफूले बाहेक कसैले पहल गर्न नसक्ने बताएका छन् ।

५८ औं अन्तराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा मूल आयोजक समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जातीय भेदभावमा परेका समुदायहरूको हक अधिकार स्थापितका लागि आफूले बाहेक अरु कसैले केही गर्न नसक्ने दाबी गरेका हुन् ।

उनले दलित समुदायहरूले सयौं वर्षसम्म सम्झने गरी छिटै केही घोषणा गर्न लागेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले उत्पीडित वर्गहरूले आफ्नो अधिकार भीक मागेर नभई संघर्षद्वारा प्राप्त गर्नुपर्नेमा जोड दिए ।

राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार एवं सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने उनले बताए । यसका निम्ति कानुन निर्माण, संशोधन एवं व्यवस्थाकीय पक्षहरूमा सुधारका खेल्नुपर्ने भूमिकाका लागि सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस हरेक वर्ष मार्च २१ मा विश्वभर मनाइँदै आएको छ । नेपाली दलित आन्दोलनले यो दिवसलाई वि.सं.२०४६ देखि निरन्तर देशव्यापी रुपमा मनाउँदै आएका छन् ।


Published :७ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media