टुँडिखेलमा घोडेजात्राको रौनक (तस्बिरसहित)

काठमाडौं । मंगलबार टुँडिखेलमा घोडेजात्रा मनाइएको छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौं उपत्यकाको प्रमुख पर्व घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा समारोह गरी घोडाका विभिन्न खेल प्रदर्शन प्रस्तुत गरेको छ ।

त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो-जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो ।

शो-जम्पतर्फ सहसेनानी राजेश श्रेष्ठ प्रथम तथा सिपाही रामशरण न्यौपाने द्वितीय भए भने म्युजिकल राइडतर्फ सहसेनानी रोजिना महत प्रथम र सहसेनानी सफलता श्रेष्ठले द्वितीय पुरस्कार प्राप्त गरे ।

यसअघि राष्ट्रपति पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । नेपाली सेनाको टुकडीले उनलाई राष्ट्रपति सलामी प्रदान गरेको थियो ।

समारोहमा ब्यानर प्रदर्शनी गर्नुका साथै अश्वकलाअन्तर्गत टाँगन र चार्जर घोडा दौड, शो जम्प, क्याभलरी ड्रिल राइड र डग शो, घोडचढी आर्चरी, महिला सवार सिक्सवार, म्युजिकल राइड, हङ्गेरियन पोष्टवारलगायतका विविध रोमाञ्चक कला प्रदर्शन गरिएको थियो।

समारोहमा राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैर सैनिकको साइकल दौड, शो जम्प, क्याभली राइड, टेण्ट पेगिङ, क्रस टेन्ट पेगिङ लगायतका घोडचढी कला देखाइएको थियो ।

त्यस्तै लान्स हिट प्याक, लान्स सुइरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, रेन फ्री जम्त तथा महिला सिक्स वार, भल्टिङ एण्ड एक्रोब्याटिक्स तथा हर्ष पिटी, म्युजिकल राइड, क्रस कन्ट्री, पोनी ले डाउन ड्रिल, हंगेरियन पोस्ट र कम्बाइन्ड फायर जम्प पनि प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ ।


Published :७ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media