दैलेखमा ग्याँस सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु

दैलेख । दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ । ट्रक दुर्घटनामा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताएका छन् ।

डीएसपी लम्सालका अनुसार मृत्यु हुनेमा चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी,कामदार २६ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेका छन् । दैलेख सुर्खेत सडक खण्डअन्तर्गत गुराँस गाउँपालिका–४ तालपोखरीमा ट्रक दुर्घटनामा परेको हो । मनकामना ग्यास सिलिण्डर लिएर नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा सहचालक प्रकाश कुमाई घाइते भएका छन् । ट्रक सडकबाट झण्डै १५० मिटर तल खसेको छ । ट्रक दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको डीएसपी लम्सालले जानकारी दिएका छन् ।


Published :८ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media