वैदेशिक रोजगारमा रहेका श्रमिकलाई समेट्न सामाजिक सुरक्षा योजना सुरु

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ ।

बुधवार सामाजिक सुरक्षा कोषद्वारा काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका हुन् ।

सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आवद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गर्ने लागेको हो । श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत् सहभागी हुन सकिन्छ ।

कोषका अनुसार त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइनेछ । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत् नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आवद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो । यो योजना शुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ ।


Published :८ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media