काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० गोलको नतिजामा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३०औं मिनेटमा अनन्त तामाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।
नवीन लामाले बायाँतर्फबाट प्रहार गरेको कर्नरमा ६ यार्ड बक्सभित्र उत्कृष्ट रन बनाएका अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए। अनन्तको गोलसँगै पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो ।
एरियल बलमा लाओसका डिफेन्डरबाट बल खोस्दै ५६औं मिनेटमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए। नवयुगले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहारमा अगाडि बढेका लाओसका गोलकिपर सेसाभाथ निरीह बने ।
नेपालले प्रतियोगिताको अर्को खेलमा शनिबार भुटानविरुद्ध खेल्ने छ।
आयोजक नेपालसँगै भुटान र लाओस गरी तीन टिम सहभागी प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ। त्यस्तै उपविजेताले तीन हजार र सर्वोत्कृष्ट खेलाडीले पाँच डलर प्राप्त गर्नेछन्। प्लेयर अफ दी म्याचलाई दुई सय ५० डलर प्रदान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ ।