दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम १ अर्ब ४१ करोड बढी

काठमाडौं । साताको अन्तिम कारोबरा दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ०.९४ प्रतिशतले गिरावट भएको छ । बिहीबार नेप्से १८.१५ अंकले गिरावट भएर १९१५.१४ अंकमा बन्द भएको छ । बजारमा सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार आएको छ ।

८ चैत मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर कारोबार १ अर्ब ४१ करोड ३२ लाख पुगेको छ । कुल २९ हजार ६८५ वटा कारोबारमा ४३ लाख ४० हजार २७० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको करिब २१ करोड ७५ लाखको कारोबार हुँदा सिद्धार्थ बैंकको ८ करोड ३६ लाखको कारोबार भएको छ । एनआईसी एशिया बैंक र सिद्धार्थ बैंककको मर्जरको चर्चा चल्दा एनआईसी एशिया बैंकको सेयरमूल्यमा उच्च गिरावट भएको छ भने सिद्धार्थ बैंकको सेयरमूल्य बढेको छ । दुवै बैंकको कारोबार पनि उच्च भएको हो ।

बिहीबार एनआईसी एशिया बैंकको सेयरमूल्य ५.१२ प्रतिशतले गिरावट हुँदा सिद्धार्थ बैंकको सेयरमूल्य ८.३४ प्रतिशतले वृद्धि भएको छ ।


Published :९ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media