एमालेलाई एक्ल्याउन बाह्य शक्तिले दशवटा टाउको जोडिदिएः केपी ओली

राष्ट्रपाटी न्युज

१० चैत्र २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक्ल्याउन बाह्य शक्ति लागेको आरोप लगाएका छन् ।

एमालेको मिसन ग्रासरुटअन्तर्गत झापाको कार्यक्रमलाई सम्बोधन गर्दै हालको गठबन्धनलाई लार्भाको संज्ञा दिँदै उनले एमालेलाई एक्ल्याउनका लागि बाह्य शक्तिले दशवटा टाउको जोडिदिएको बताए ।

साथै अध्यक्ष ओलीले कोशी प्रदेश सरकार जोगाइछाड्ने बताए । ६ सिट भएको राप्रपा र एमालेसँग भएको ४० सिटमा एक सिट थपथाप गरेरै भए पनि  प्रदेशको सरकार टिकाउने उनले बताए । उनले भने, ‘हामीसँग ४० सीट छ । राप्रपासँग ६ सिट छ। अब एउटा खोज्नुपर्नेछ । किनभने हामीलाई राप्रपाले साथ दिन्छ भन्ने आधारमा ।’

अध्यक्ष ओलीले लगभग सर्वसम्मतिले नामकरण भएको प्रदेशमा एमालेबाटै चोइटिएकाहरुले कोशी प्रदेशको विरोध गरेको बताए ।

उनले भने, ‘केही केही मान्छेहरुले भ्रम फिँजाउने कोसिस गरेका छन् । अनावश्यक ढंगले विवाद खडा गर्न खोज्ने र समाजमा अशान्ति मच्चाउन खोज्नेले नियोजित रुपमा कोशी प्रदेशको विरोध मात्रै गरेका छन्। त्यसैले जनतामा अन्योल सिर्जना गर्न खोजेका छन् ।’


Published :१० चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media