नेपाल प्रहरीका नौ उच्च प्रहरी अधिकारीको एकैपटक अवकाश

राष्ट्रपाटी न्युज

११ चैत्र २०७९

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन् ।

तीस वर्ष सेवा अवधि पूरा गरेका महानिरिक्षक सिंहसहितका उच्च अधिकारीहरूलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममार्फत शुक्रबार साँझ बिदाइ गरिएको हो । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उहाँहरूको सामुहिक बिदाइ गरेका हुन् ।

यसरी अवकास पाउनेमा प्रहरी महानिरीक्षक सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डेलगायत रहेका छन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरप्रति हार्दिक आभार प्रकट गरे ।

प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गरे ।


Published :११ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media