देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यकता छः गृहसचिव

राष्ट्रपाटी न्युज

१२ चैत्र २०७९

काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताएका छन् ।

आईतवार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताएका हुन् । सचिव सिंहले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गरे ।

उनले समाजमा प्राविधिक गतिविधिहरुमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यक्ता रहेको बताए ।

सचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शुन्य सहनशीलतामा लैजानुपर्ने बताए । उनले प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको आवश्यकता रहेको बताए ।

सचिव सिंहले प्रहरी प्रशासनमा अझै पनि पूर्ण रुपमा सुधार नदेखिएको बताए । उनले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने बताए ।


Published :१२ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media