संसदको मर्यादा उल्लंघनमा कांग्रेस उपसभापति खड्काले मागे माफी

राष्ट्रपाटी न्युज

१२ चैत्र २०७९

काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष सांसदको नियमापक्ति पछि सत्ता पक्षका सांसदले माफी मागेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक चलिरहँदा सत्तापक्षबाट मर्यादाविपरीत काम भएको भन्दै नियमापत्ति जनाएको थियो ।

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाको सभामुखको आसन तथा सांसद बोलिरहँदा त्यही बीचबाट हिँड्न नपाइने भन्दै नियमापत्ति गरेका थिए ।

“पटक–पटक मर्यादाविपरीत काम भइरहेको छ । प्रतिनिधिसभा नियमावली २० को ६ बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही सदस्यलाई अनुमति हुँदैन,” बर्तौलाले भने, “पटक–पटक मर्यादाको धज्जी उडाउँदै सत्तापक्षका मान्यबाट यस्ता काम भइरहेको छ । सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।”

बर्तौलाले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले त्यसबारेमा ध्यान पुर्‍याउन आग्रह गरे । लगत्तै नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद पूर्णबहादुर खड्काले बोल्ने समय माग गर्दै माफी मागेका थिए ।

“अन्देखाका कारणले माननीयज्यूले उल्लेख गर्नुभएअनुसार मैले त्यो नियमावलीको दफालाई उल्लंघन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु,” खड्काले भनेका थिए ।


Published :१२ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media