मन्त्री बनेपछि सोह्रश्राद्धको सिदा उठाएर हिँड्ने बाहुनजस्तो भएको मन्त्री किराँतीको अनुभव

राष्ट्रपाटी न्युज

चैत्र १२, २०७९

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित अमिन नेसनल म्युजिक अवार्डमा उनले यस्तो बताएका हुन् ।

उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्र गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरेको उल्लेख गरे। मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको उनले सुनाए । मन्त्री बनिसकेपछि आफू सिदा उठाएर हिँड्ने सोहश्राद्धको बाहुनजस्तो भएको उनले बताए। मन्त्री किरातीले मानिसको प्राचीन विधा गीत–संगीत रहेको पनि बताए ।

“म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु। मलाई लाग्थ्यो, सांसद हुँदाखेरि म धेरै सानोसानो काममा हिँड्थेँ। यतिसम्म कि मान्छेहरूको बसको टिकटमा समस्या समेत पुग्थेँ, अनि लाग्थ्यो, मन्त्री भएँ भने फुर्सद हुन्छ होला। ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होलाजस्तो लाग्थ्यो,” उनले भने, “तर, म मन्त्री भएको ६५ दिन हाराहारी हुँदै छ। लाग्छ, म त सोह्रश्राद्धको बाहुनजस्तो भएँ। हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने। त्यसको निम्ति म क्षमाप्रार्थी छु। अन्तिमसम्म कार्यक्रममा बस्न सकिनँ। मानिसको प्राचीन विधा गीत–संगीत हो। प्रेमगीत त आमाबाट सिर्जित भयो। राजनीतिज्ञ र क्रान्तिकारीहरू झनै धेरै प्रेमी हुन्छ। जसले प्रेम गर्न जान्दैन, त्यसले त देश पनि चलाउन जान्दैन। तर, गीतजस्तो जीवन हुँदैन। जीवन र गीतको व्यावहारिक तालमेल धेरै टाढा छ ।”

मन्त्री किराँतीले राजनीतिज्ञ र क्रान्तिकारी अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताए । प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने उनको भनाइ छ ।


Published :चैत्र १२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media