शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सुरक्षा चुनौतीः प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

१४ चैत्र २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू-राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सूरक्षा चुनौती बढी रहेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेका सुरक्षा चुनौतीका आयाम र त्यसका कारण हुन सक्ने खतराबारे धारणा राखे ।

प्रधानमन्त्री दाहालले भने, ‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू-राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ।’

उनले यस्ता चुनौतीहरूको डटेर सामना गर्नुपर्ने उल्लेख गरे । ‘राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरुको डटेर सामना गर्न हामी सक्षम छौं भन्ने मैले विश्वास लिएको छु । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने पनि म विश्वास दिलाउँछु’ उनले भने ।


Published :१४ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media