लुम्बिनी । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरुलाई युटुव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले समाचारका स्रोतहरु टेलिभिजनसहितका सञ्चार माध्यामहरु नै भएकाले युटुव, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको ओलीको भनाई थियो । बुधबार बुटवलमा आयोजित लुम्विनी सामूदायिक टेलिभिजनको १७ औं वार्षिक साधारण सभामा बोल्दै उनले सामाजिक सञ्जालहरुसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्यूजको सम्भावना नरहेको तर्क समेत गरे ।
अध्यक्ष ओलीले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि समाचार माध्यमहरुलाई सुझाव दिए । विश्वमा सञ्चारका नयाँनयाँ प्रविधिहरुको विकास भएकाले टेलिभिजनलगायतका सञ्चार माध्यमहरुले पनि त्यसको प्रयोग गर्दै अघि बढाउनुपर्ने उनले बताए ।
ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यमहरुको विकासले गति लिएको पनि स्मरण गराए । त्यस अवसरमा उनले विश्वमा नै टेलिभिजन सञ्चारमाध्यमको विकासको इतिहास लामो नभएको पनि उल्लेख गरेका थिए ।