रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्र र नेकपा एसमा नेताहरु खराब भए पनि इमान्दार कार्यकर्ताहरु धेरै भएकाले उनीहरुलाई भ्रमबाट मुक्त पार्न आवश्यक रहेको बताएका छन् ।
आज बुटवलमा मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दुवै पार्टीमा रहेका नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएकाले नेताहरु छाडेर इमान्दार कार्यकर्तालाई एमालेतर्फ ल्याउनुपर्ने बताए ।
अध्यक्ष ओलीले भने, ‘पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत भनेर राखेका छन् । पार्टी फुटाउने फाटोवादी हुन् । अनि कम्युनिष्टको सरकार ढालेर नेपाली कांग्रेसको सरकार बनाउन बिन्ति बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बनेर कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नाम चै समाजवादी राखेर भ्रमित बनाउने ? केही इमान्दार कार्यकर्ता भ्रममा छन् उनीहरुलाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं।’
माओवादीमा पनि धेरै इमान्दार कार्यकर्ताहरु भ्रममा लागिरहेको ओलीले दाबी गरे ।
उनले भने, ‘शरीरभरी गोली बोकेर, अंगभंग भएर परिवारका सदस्य गुमाएर कार्यकर्ता बसेका छन् । प्रचण्डसहितका नेताहरुलाई मस्ती छ, अब ती कार्यकर्ताको चेत खुलाउने गरी अभियान थाल्नुपर्दछ । भ्रमबाट मुक्त गर्नुपर्दछ, माओवादीमा नेता खराब छन्, कार्यकर्ता इमान्दार छन्, उनीहरुलाई पार्टीमा ल्याएर जिम्मेवारी दिएर घुलमिल गराऔं ।’