धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको बताएका छन् । उनले प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पाँच वर्ष चल्नेमा शंका रहेको पनि बताए ।
आज कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा पौडेलले संसद पाँच वर्ष नचलेर मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताए ।
उनले अहिलेको गठबन्धन भत्काउने, तोड्ने जस्ता खेलमा नलागेको जनाए । तर एमालेले चाहेमा गठबन्धन तोड्न धेरै समय नलाग्ने उनले दाबी गरे । प्रतिनिधिसभामा एमाले सशक्त प्रतिपक्षको भूमिकामा उभिने पनि उनले बताए ।
पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’ले एमालेलाई बलियो बनाइरहेको भन्दै पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने जिकिर समेत गरे ।