जनता नठगिने गरी मिटरब्याजविरुद्ध कडा कानुन ल्याउनुपर्छः नैनसिंह महर

राष्ट्रपाटी न्युज

१८ चैत्र २०७९

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत मिटरब्याज पीडितका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्  । स्कुल अफ डेमोक्रसीद्वारा बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाडौंमा आई न्यायका लागि छटपटाउनु सुखद नभएको बताए ।

महरका अनुसार  अहिले मधेश प्रदेशका मिटरब्याज पीडितको पीडामात्रै देखिएको छ । तर, भित्रभित्रै देशभर नै मिटरब्याजीहरू सक्रिय छन् । सोझासाझा आर्थिक अवस्था कमजोर भएका जनतालाई खाली पानामा औठाछाप गर्न लगाइ मन लाग्दी रकम राख्ने र ब्याज लगाउने टाठाबाठाहरू सक्रिय छन् । त्यसैले सरकारले भविश्यमा जनता नठगिने गरि मिटरब्याजविरुद्ध आवश्यक कडा कानुन ल्याउनुपर्छ ।

सरकारले मिटरब्याजका नाममा तराई-मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको भए पनि यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेकाे उनकाे भनाइ छ ।

मिटरब्याज पीडितहरूले दोषीलाई कारबाहीसँगै तमसुक व्यवस्था खारेज हुनुपर्ने, साहुकारको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था गर्नुपर्ने, बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको र ती माग जायज रहेको महरको भनाइ छ । पीडितहरूले पनि यस्ता लेनदेनका काम गर्दा कानुनसम्मत तरिकाले सरकारको उपस्थितिमा गर्नुपर्ने महरको धारणा छ ।


Published :१८ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media