मिटरब्याज पीडितलाई उपप्रधानमन्त्री श्रेष्ठको आश्वासन- “माग सम्बोधन हुन्छ घर फर्कनुस्” 

राष्ट्रपाटी न्युज

१९ चैत्र २०७९

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् ।  अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन् । उनले पीडितसँग अवस्था बुझ्दै भने, “तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।”

घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो । मन्त्री श्रेष्ठले भने, “उहाँहरु अब फर्कने तयारीमा हुनुहुन्छ । उताबाट करिब दुई साता हिँडेर आउनुभएको छ, त्यसैले उहाँहरुको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो ।”

वीर अस्पतालका मेडिकल अफिसर डा सञ्जय धरेलले सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउए । “उहाँहरुको अवस्था सामान्य छ । केही दीर्घरोगका बिरामीलाई आवश्यक परीक्षण र परामर्शका लागि सिफारिस गरेका छौँ”, उनले भने ।

पीडितले आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त भएर फर्किंने तयारीमा रहेको बताए । उनीहरुले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागिसमेत माग गरेका छन् । “सहमति अनुसार समस्या समाधान हुने विश्वस्त छौँ”, सिरहाका श्यामकुमार ठाकुरले भने, “हामी जे उद्देश्यले काठमाडौँ आयौँ, सोही अनुसार नीति निर्माणको प्रक्रिया अघि बढेको छ ।”

मिटरब्याज पीडितहरु ११ दिन हिँडेर काठमाडौँ आएका थिए । (रासस)


Published :१९ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media

preload imagepreload image