शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब २० करोडमाथि  

राष्ट्रपाटी न्युज

१९ चैत्र २०७९

काठमाडौं । पहिलो कारोबार दिन नै सेयर बजार परिसूचक नेप्सेमा १.०५ प्रतिशतको गिरावट भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा २० अंकको गिरावट हुँदा १८८८.५५ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा नेप्से दोहोरो अंकले घटेको छ । व्यापार उपसूचक सर्वाधिक २.५८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.६३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक १.०८ प्रतिशतले गिरावट भएको हो ।

गत साताको अन्तिम दुई कारोबार दिन लगातार १ अर्बबाट तल झरेको कारोबार रकम आइतबार भने बढेको छ । गत बुधबार ८२ करोड र बिहीबार करिब ९० करोडको कारोबार भएको बजारमा आइतबार १ अर्ब २० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । ३२ हजार ४१४ वटा कारोबारमा ३७ लाख ८७ हजार २४१ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको सेयर कारोबार भएको हो ।

आइतबार नेप्सेमा कारोबार भएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ५ करोड ६ लाखको सेयर कारोबार हुँदा शिवम् समेन्टको ४ करोड ५१ लाख र रिडी पावर कम्पनीको ३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


Published :१९ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media